Header Ads

Headlines News :
    Showing posts with label समाचार. Show all posts
    Showing posts with label समाचार. Show all posts

    अन्नपूर्ण हिमशृङ्खला बगेपछि भीषण बाढी


    पोखरा, बैशाख २३
    अन्नपूर्ण हिमश्रृखंला अन्तर्गत कास्कीको दुर्गम हिमाली भेगमा आज विहान हिम पहिरो जाँदा सेती नदीमा पानीको बहाव अत्यधिक मात्रामा बढेको छ । विहान ९ बजेतिर गएको हिम पहिरोका कारण सेती नदीमा आएको पानीको बहावमा परेका ६ जनाको शव भेटिएको छ भने, भने अन्य दर्जनौ मानिसहरु बेपत्ता भएका छन् ।

     हेम्जाको याम्दी दोभानमा ३ वटा, मनिपाल नजिकै १, भजुङखोलामा १ र रामघाटमा १ गरी ६ वटा शव फेला परेको प्रहरीले जनाएको छ । विहान ९ बजेतिर हिम पहिरो गएपछि बढेको पानीको वहावका कारण भुजुङखोलास्थित सेती किनारमा रहेका पुल, घरटहरा, केही रेस्टुरेन्ट समेत बगाएको मिर्सा गाउँकी बुद्धिकुमारी गुरुङले जानकारी दिनुभयो ।

     प्रहरीले जानकारी दिए अनुसार खारापानीका ५० भन्दा बढी मानिसहरु बेपत्ता भएका छन् भने पानीले बस्ती नै बगाएको छ । घरपालुवा गाई, भैसी लगायतका चौपायाहरु पनि ठूलो संख्यामा बगाएको जनाइएको छ । हेम्जाको म-याङघाटस्थित सेती नदी किनाराबाट बाट ५ वटा ट्रक बगाएको र स्याङजाको निजी स्कूलबाट विद्यार्थी लिएर पिकनिकका लागि पोखरा आएका २ वटा बस समेत बगाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
     पिकनिकका लागि आएका ३ जना भने सकुशल रहेको र उनीहरुको मनिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । नदीमा पानीको वहावका कारण घाचोकको तल्लो क्षेत्रमा राखिएका केही ट्रक, गिद्ध रेष्टुरेन्ट र गाई फार्म समेत बगाएको छ । बाढीको कारण स्थानिय भुजुङखोला खारपानीमा रहेका बस्ती नै विस्थापित भएको स्थानीयबासीले जनाएका छन ।
     कास्की प्रहरीका अनुसार पानीको उच्च बहावका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै भुजुङखोला, हेम्जा, पोखराको रामघाट, लालटिन बजार, गाइघाट लगायतका स्थानमा स्थानीयबासीलाई सचेत गराउनुका साथै २ सय ५० भन्दा बढी घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । हरेक १० मिनेटको अन्तरमा पानीको बहाव घट्ने बढ्ने गरेको छ ।
     यसैबीच, प्राप्त पछिल्लो जानकारी अनुसार कास्कीको भजुङको खारपानी बजारमा रहेका १४ भन्दा बढी पसलहरु हिमपहिरोपछि आएको बाढीले बगाएको छ । प्रारम्भिक जानकारी अनुसार हिम पहिरो गएको हुनसक्ने अनुमान गरिएपनि हिमपहिरो गएको हो वा हिमताल फुटेको हो एकिन हुन सकेको छैन । जलवायु परिवर्तनका कारणले यस्तो प्राकृतिक विपद् आएको हुनसक्ने विज्ञहरुले वताएका छन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
    हेर्नुहोस् भिडियो

    ठेक्कापट्टाको सबै काम अनलाइनबाट


    पाण्डव शर्मा 
    वैशाख १३, काठमाडौं । सरकारले निर्माण व्यवसायसँग सम्बद्ध सबै काम अनलाइनबाट गर्ने तयारी गरेको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा अनलाइन सेवा सञ्चालनका लागि सफ्टवेयरको काम भइरहेको भौतिक योजना तथा निर्माण मन्त्रालय वैदेशिक लगानी महाशाखा प्रमुख तथा निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समिति अध्यक्ष रमेशराज विष्टले अभियानलाई बताए । उनले भने, ‘सफ्टवेयरको काम अन्तिम चरणमा पुगेकाले अबको ४ महीनाभित्र सेवा शुरू हुनेछ ।’ सो सेवा सञ्चालनमा आएपछि टेण्डर– प्रक्रिया सहज बन्ने उनको भनाइ छ । अनलाइन सेवाको सञ्चालनपछि निर्माण व्यवसायीहरूको टेण्डरसम्बद्ध प्रस्तावलाई केही मिनेटमै हेर्न र मूल्याङ्कन गर्न सकिने पनि उनले बताए । यस्तो सेवाबाट सरकार र निर्माण व्यवसायी दुवैको समय र रकमको बचत हुने मन्त्रालयको दाबी छ । 

    सरकारले आर्थिक वर्ष २०६४/६५ देखि नै निर्माण व्यवसायीको टेण्डर इमेलमार्फत दर्ता गर्दै आएको छ । ‘अब टेण्डर दर्तामात्रै होइन, खरीद र मूल्याङ्कनको काम पनि अनलाइनबाटै गरिनेछ,’ विष्टले भने, ‘यसबाट मुलुकका जुनसुकै कुनामा रहेर काम गर्ने निर्माण व्यवसायीको प्रत्यक्ष अनुगमन गर्न सरकारलाई सहज हुनेछ ।’ अनलाइन सेवा सञ्चालनपछि निर्माण व्यवसायीको तह निर्धारणमा समेत सहयोग पुग्ने उनले बताए । निर्माण व्यवसाय ऐन २०५५ र नियमावली २०५६ मा निर्माण व्यवसायीको दर्ता, नवीकरण र स्तरोन्नतिका साथै तह निर्धारण सरकारले गर्नुपर्ने उल्लेख छ । तर, पुरानो झन्झटिलो कार्यशैलीका कारण मन्त्रालयमा यसको तथ्याङ्क व्यवस्थित हुन नसकेको अधिकारीहरूले बताएका छन् । अनलाइन प्रविधि सञ्चालनमा आएपछि यी सबै समस्या समाधान हुने विष्टले बताए । यो सेवाको सञ्चालनपछि वेबसाइटको माध्यमबाट सरोकारवाला अधिकारीहरूले मुलुकका जुनसुकै कुनामा रहेका विभिन्न आयोजनाको प्रगति एकैपटक हेर्न सक्ने उनको भनाइ छ । सरकारले काम र क्षमताका आधारमा निर्माण व्यवसायीहरूलाई चार तहमा विभाजन गरेको छ । निर्माण व्यवसायी महासङ्घका अनुसार नेपालमा हाल ‘क’ वर्गका १ सय ९० निर्माण व्यवसायी छन् । यस्तै ‘ख’ वर्गका ३ सय ८०, ‘ग’ वर्गका १ हजार ३ सय ५० र ‘घ’ वर्गका १४ हजार निर्माण व्यवसायी रहेका छन् ।

    अनलाइन सेवाको सञ्चालनपछि व्यवसायीको आर्थिक तथा भौतिक सुरक्षासमेत हुने महासङ्घका अध्यक्ष जयराम लामिछानेले बताए । ‘अहिले धेरै निर्माण व्यवसायीले निर्धक्क भएर टेण्डर हाल्न नपाएको स्थिति छ, व्यवसायीको काममा विभिन्न तइभ्वले अवरोध पुर्याउँदै आएका छन् ।’ यसले निर्माण व्यवसायीको ठूलो धनराशिसमेत बचत हुने उनको भनाइ छ । ‘सरकारले हामै्र मागअनुरुप यस्तो सेवा शुरू गर्न लागेको हो,’ लामिछानेले भने, ‘अहिले एउटै टेण्डरका लागि निर्माण व्यवसायीको ५ हजारदेखि ५० हजार रुपैयाँसम्म खर्च भइरहेको छ ।’ यातायात, फोटोकपीलगायतमा भइरहेको खर्च यो सेवाको सञ्चालनपछि पूर्णरूपमा बचत हुनेछ । अधिकांश विकसित मुलुकहरूमा टेण्डर प्रक्रिया अनलाइनबाटै सञ्चालन हुने पनि उनले जानकारी दिए ।

    छोरीभन्दा बाऊ एक बर्ष कान्छो

    ८ बैशाख, सिन्धुपाल्चोक । सामान्यतया केटाकेटीको विवाह गर्ने उमेर कति होला ? सवैलाई थाहै छ केटा र केटीको उमेर २० बर्ष पूरा हुनुपर्छ । यो भन्दा कमको उमेर भयो भने कानुनले दण्डित गर्ने प्रावधान रहेको छ ।
    सिन्धुपाल्चोकको साँगचोक १ की विमला पराजुलीले भने आफ्नी छोरीको उमेरभन्दा एक बर्ष कान्छो केटासँग दोस्रो विवाह गरेकी छन् । सुन्दा पनि पत्यार नलाग्न सक्छ तर प्रेममा पागल भएपछि यस्तो पनि हुँदो रहेछ ।
    विमला ५ सन्तानकी आमा हुन । उनकी जेठी छोरीको उमेर १८ बर्ष रहेको छ । उनकी जेठी छोरी स्थानिय विद्यालयका कक्षा १२ मा अध्ययनरत रहेकीछन् । तर, उनले आफ्नो दोस्रो विवाह भने फुल्पिङडाँडा १ का १७ बर्षका रविन विकसँग गरेकी छन् । विमलाको उमेर रविनको भन्दा झण्डै दोव्वर रहेको छ । उनी ४० बर्षकी भएकी छन् ।
    तीन छोरा र दुई छोरीकी आमा रहेकी विमलाका श्रीमान रोजगारीको सिलसिलामा दुईबर्ष अघि विदेश गएको खबर आजको राजधानीले छापेको छ ।
    भंर्खर बैशमा आएका रविनलाई मंसिरमा पहिलो पटक नयाँ नम्बरबाट मिसकल आएको थियो । फोन फर्काउँदा केटि बोलेपछि उनि मख्ख परेका थिए । पछि विमलाको बारेमा बुझ्दा पनि उनले आफ्नो विवाह नभएको बताएपछि आफूले झन धेरै फोन गर्ने गरेको र चार महिनासम्म निरन्तर फोनमा कुराकनी हुँदा माया प्रीतिका कुराकानी पनि भएको रविनले बताएका छन् ।
    गत फागुनमा विमलाले मेरो विवाह भएको छ भन्दा पनि विवाह भएपनि रविनले केहि हुँदैन भनेपछि विवाह गर्न राजी भएको विमलाले बताएकी छन् । मैले विवाह भएको छ चाँही भने तर बच्चा भएको भने नभनेको विमलाले बताईन् ।
    फागुन ५ मा गाउँमा विबाह छ भनेर नयाँ कुर्ता सुरुवालमा ठाँटिएर पहिलोपटक प्रेमी भेट्न हिनेकी विमलाले दोलालघाटमा रविनसँग भेटे पछि त्यहिबाट हिडेको उनले बताएकी छन् ।
    उनिहरु पहिलो पटकको भेटमा भने छक्क परेका थिए रविनले सोचेको विमला र विमलाले सोचेको रविनमा फरक आएपछि उनिहरु छक्क परेर केहीबेर बोलचालसमेत नभएको पत्ता लागेको प्रहरी निरीक्षक सुजन राजभण्डारीले जानकारी दिनुभयो । विवाह भएपछि विमलाले आफ्नो थरपनि परिवर्तन गरिसकेकी छन् ।
    विमलाका श्रीमानले प्रहरीमा उजुरी दिएपछि उक्त रहस्य खुलेको हो । यता विमलाले भने दोस्रो विवाहबाट आफू खुसि भएको र पहिले श्रीमानले दुखः दिने गरेको पनि बताएकीछन् । विमलाले घुमाउरो पारामा यौन चाहाना पुरा गर्नका लागि पनि दोस्रो विवाह गरेको बताएकी छन् ।

    तिलगंगामा लेजर प्रविधि सहितको आँखा उपचार कक्ष

    काठमाडौं, चैत्र २६ - स्कुलैदेखि माइनस ६ दशमलव पाँच पावरको बाक्लो चस्मा लगाउने निशेन कँडेलमा अचेल खुसीको सीमै छैन । उनी सहज रूपमा फुटबल खेल्न सकिरहेका थिएनन् । पौडी खेल्दा उस्तै समस्या थियो ।
    २८ वर्षीय निशेन तिलगंगा आँखा प्रतिष्ठानले दृष्टिदोषबाट हुने अन्धोपन उपचारका लागि सुरु गरेको विश्वकै अत्याधुनिक लेजर प्रविधिको सहयोगले चस्मा फाल्न सफल भएका हुन् । अब उनको दृष्टि सामान्य व्यक्तिको जस्तै छ ।
    निशेन जस्तै हाल मुलुकमा १६ वर्षमुनिका १० लाख बालबालिका, १६ देखि ३५ वर्षसम्मका ११ लाख र ३५ वर्षभन्दा माथिका ३७ लाख व्यक्तिहरू विभिन्न प्रकारको दृष्टिदोषबाट पीडित छन् । हाम्रो आँखाको पर्दामा प्रतिविम्ब बनाउने प्राकृतिक प्रणाली असफल हुन्छ अनि हामीलाई चस्मा, कन्टेक्ट लेन्स आदिको सहयोग लिनुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कुल अन्धोपनाको ४३ प्रतिशत भागमा दृष्टिदोष छ ।
    'चस्माकै कारण भोगेको पीडाको वर्णन साध्य छैन, मेरा लागि यो प्रक्रिया सय प्रतिशत दुखाइरहित थियो,' माइनस साढे ६ को पावरमा आफू सामान्य जीवनयापन गर्न नसक्ने गरेको उल्लेख गर्दै निशेनले भने, 'अब पौडन सक्छु, काम गर्न सक्छु, धेरै खुसी छु ।' यसअघि यस्तो शल्यक्रिया गर्न भारत जानुपर्ने बाध्यता थियो ।
    तिलगंगाले विश्वकै अत्याधुनिक लेजर प्रविधि सहितको आँखा उपचार कक्षमा  'स्मल इन्सिजिनल लेन्टिक्युलर एक्सट्राक्सन'(स्माइल) भनिने लेजर प्रविधि राखेको छ । 'दृष्टिदोषको मानवीय लेजर उपचार,' कार्यक्रम नामकरण गरेर यसअन्तर्गत सक्षमबाट शुल्क लिएर तिर्न नसक्नेहरूको उपचारमा सघाउ पुर्‍याउने अस्पतालको योजना छ ।
    'यस्तो सेवा विश्वको अन्य भागमा उपलब्ध रहेको जानकारी छैन,' केन्द्रका मेडिकल डाइरेक्टर डा.सन्दुक रुइतले भने, 'हाम्रो मूल उद्देश्य सक्नेबाट शुल्क लिएर नसक्नेहरूको उपचारमा सघाउनु
    हो ।' यो सेवा र संरचनाका लागि लन्डन भिजन क्लिनिक, यूएसएड, हिमालयन क्याटराक्ट प्रोजेक्टले सघाएको हो ।
    'लेजर सर्जरीले करिब ९६ प्रतिशत दृष्टिदोषलाई निको पार्न सक्छ,' लन्डन भिजन क्लिनिक, बेलायतका निर्देशक प्रा.डा.डैन राइनस्टाइन समाजले दृष्टिदोषलाई रोगका रूपमा परिभाषित नगरेको उल्लेख गर्दै भन्छ, 'करिब पचास प्रतिशत दृष्टिको क्षतिको कारण चस्माको खर्च उठाउन नसक्नु हो ।' तिलगंगामा भएको लेजरको सबै संरचना लन्डन भिजन क्लिनिक जस्तै रहेको उल्लेख गर्दै प्रा.डा.डैनले भने, 'यहाँ र हाम्रो परिणामसमेत उस्ताउस्तै छ ।'
    'हामी बिरामीको उपचार प्रक्रियाबारे लन्डनबाट सुनिश्चित भएपछि मात्र यहाँ लेजर गछौर्ं, दृष्टि शल्यचिकित्सक डा.राजकिशोर प्रधानले भने, 'यहाँ पाँच स्टेपमा परीक्षण गर्छाैं ।' हाल तिलगंगामा रहेको एक्जाइमर लेजरले आँखाको नानीको आकारलाई परिवर्तन गरिन्छ । यस्तै पेन्टा सेकेन्ड लेजर
    -स्माइल) ले नानीलाई कोण मिलाएर काट्छ । अत्याधुनिक रहेको पेन्टासेकेन्ड लेजरबाट नानीलाई फेर्नसमेत मिल्छ । हाल मुलुकमा नानी हातले फेर्ने गरिएको छ ।
    १८ वर्षभन्दा माथिका कुनै पनि व्यक्ति जो चस्मा वा कन्टेक्ट लेन्स उपयोग गरिरहेका छन् उनीहरूले यो शल्यक्रिया गराउन सक्छन् । यो प्रविधिले उपचार गराउने रोगी त्यसै दिनदेखि हेर्न सक्षम हुन्छ र तेस्रो दिन कार्यालयसमेत जान सक्छ । यो प्रविधिले सजिलै मायोपिया, हाइपर मेट्रोपिया, एस्टिगमेटिज्मको समेत उपचार हुन्छ । डा.प्रधानका अनुसार हाल तिलगंगामा माइनस १४, प्लस ६ र ६ पावरको अस्टिगमेटिज्मसमेत स्माइलबाट हटाइएको छ ।

    फोहोर फाल्दा रातभरि थुनामा

    अर्जुन सुवेदी, काठमाडौं, चैत २४- ठमेलकी सोनी गुरुङलाई बुधबार राति प्रहरी गस्ती टोलीले पक्राउ गर्‍यो। उनले रातभरि थुनामा बिताइन्। बिहान छुट्दा पाँच सय जरिवाना पनि तिर्नुपर्‍यो।
    सोनी पक्राउ पर्नुको कारण यस्तो थियो, जसलाई आजसम्म न उनले, न अरू कसैले अपराध ठान्ने गरेका छन्। त्यो हो, सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने।
    एक रातलाई साथीको घर बस्न आएकी उनी राति ११ बजेतिर फोहोर फाल्न निस्केकी थिइन्। अचानक प्रहरी टोली आएर 'तपाईंले सार्वजनिक स्थानमा फोहोर फाल्नुभयो, तपाईंलाई पक्राउ गरिन्छ' भन्दा उनी चकित खाइन्।
    'फोहोर फाल्दा पनि पक्राउ परिन्छ भन्ने त कल्पनै गरेको थिइनँ,' महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा उनले बिहीबार नागरिकसँग भनिन्, 'रातभरि थुनामा बसेर पाँच सय जरिवाना तिर्नुपर्‍यो, फोहोर फाल्दा पनि यत्रो सजाय त अति भो!'
    सोनीलाई मात्र होइन, सार्वजनिक स्थानमा फोहोर फाल्दै गरेका १८ जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। सबैलाई रातभर थुनामा राखी पाँच/पाँच सय जरिवाना तिराएर छाडिएको छ।
    महानगरपालिका, ठमेल पर्यटन विकास परिषद् र प्रहरीको संयुक्त गस्ती टोलीले बुधबार राति लैनचौरबाट ३, ठमेलबाट ९, पकनाजोलबाट ४, सोह्रखुट्टेबाट १ र क्षेत्रपाटीबाट १ जनालाई पक्राउ गरेको हो।
    बिहीबार सुरु 'सफा काठमाडौं हाम्रो काठमाडौं' अभियान क्रममा काठमाडौं महानगरपालिकाले राजधानीको सरसफाइमा कडाइ गरेको छ। कार्यक्रमको पहिलो चरण भएकाले थोरै सजाय गरिएको महानगरपालिकाले जनाएको छ।
    फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार सार्वजनिक स्थानमा फोहोर फाल्ने वा फोहोर व्यवस्थापनमा अवरोध गर्नेलाई १५ दिनदेखि ३ महिना कैद, ५ सयदेखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
    राति जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न सादा पोसाकमा गस्ती टोली परिचालन गर्न थालिएको छ। पकनाजोल, लैनचौर र ठमेलका १६ जना राति ११ बजे र सोह्रखुट्टे र क्षेत्रपाटीमा राति २ बजे समातिएका हुन्।
    'जथाभावी फोहोर फाल्नेहरूलाई रातभरि थुनेर बिहान ५ सय जरिवानासहित कागज गराएर छाड्यौं,' महानगरीय प्रहरी प्रभाग स्रोहखुट्टेका प्रहरी निरीक्षक तिलक भारतीले नागरिकसँग भने, 'फोहोर व्यवस्थापनका लागि सरकारले सफाइ अभियान सुरु गरेका बेला पूर्वसूचना दिँदादिँदै अटेर गर्नेहरूलाई कारबाही गरेका हौं।'
    उनका अनुसार फोहोर फाल्नेलाई कारबाही हुन्छ भनेर एक महिना पहिल्यैदेखि माइकिङ गरिँदै आएको थियो। यसबीच ड्रेसमै गस्ती गर्दा पनि नघटेपछि सादा पोसाकमा जान थालेको भारतीले बताए।
    काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख केदारबहादुर अधिकारीले गाडी चलाउँदा मादकपदार्थ सेवन (मापसे) गर्नेलाई जस्तै फोहोर फाल्नेहरूमाथि पनि कडा कारबाही गरिने बताए। 'अहिले मापसे गरेर सवारी चलाउँदा कारबाहीमा परिन्छ भनेर चालकहरू जति सचेत छन्, सार्वजनिक स्थानमा फोहोर फाल्दा पनि कारबाहीमा परिन्छ भनेर सबैलाई त्यसैगरी सचेत पार्नु यो अभियानको उद्देश्य हो,' उनले भने।
    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले सार्वजनिक स्थानमा फोहोर गर्नेमाथि निगरानी बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेको बताए। 'सार्वजनिक स्थानमा फोहोर गर्नेलाई पक्राउ गरेर थुन्न परिपत्र जारी गरिसकेका छौं,' उनले भने।
    सातदिने सरसफाइ अभियानमा प्रधानमन्त्री, मन्त्री, सचिव, कर्मचारी, सेना, प्रहरी लगायत सर्वसाधारण समेत उपस्थित हुने महानगरपालिकाले जनाएको छ। सफाइका लागि पाँच क्षेत्र विभाजन गरी बिहान ६ देखि १० बजेसम्म तोकिएको छ। महानगरले दैनिक १० हजार स्वयंसेवक सफाइमा लाग्ने बताएको छ।

    सामूहिक बलात्कारपछि मानसिक असन्तुलन, जिल्ला अदालतबाट अनुसन्धान सुरु

    डडेलधुरा , चैत्र १३,
    विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा १० कक्षासम्म पढाइ पूरा गरेर एसएलसीमा राम्रो श्रेणीमा उत्तीर्ण हुने आशा गरेकी एक छात्रा सामूहिक बलात्कारपछि मानसिक अस्पताल भर्ना भएकी छन् ।
    बैतडी पाटनमा आफन्तको घरमा बसेर एसएलसी दिइरहेकी उनलाई बिहीबार राति डेरामै गएर गाजर गाविस ३ का सागर भट्ट र भुमेश्वर २ का अमर अवस्थीले सामूहिक बलात्कार गरेपछि उनले मानसिक सन्तुलन गुमाएकी हुन् । 'दुवैमाथि सामूहिक बलात्कार मुद्दा दर्ता गरिएको छ,' बैतडीका प्रहरी नायब उपरीक्षक विष्णुबहादुर कार्कीले भने, 'जिल्ला अदालतबाट १५ दिने म्याद थपेर अनुसन्धान सुरु भएको छ ।'
    सामूहिक बलात्कारपछि मानसिक सन्तुलन गुम्दा उनले आइतबारको विज्ञान परीक्षा दिन सकिनन्,' कार्कीले भने, 'जोर जोरले चिच्याउने, दगुर्ने, एकोहोरो टोलाउने, एउटा कुरा सोधेपछि अर्को कुरा बोल्नेजस्ता लक्षण देखा परेका छन् ।' छात्राको आँखा, टाउको र खुट्टामा चोटसमेत लागेको छ ।
    विद्यालयले विशिष्ट श्रेणीमा उत्तीर्ण हुने आशा गरेको थियो,' उनको विद्यालयका एक शिक्षकले भने, 'गरिब घरकी छोरीको जीवन नै बर्बाद भयो ।' उनी हरेक कक्षामा प्रथम हुँदै आएकी थिइन् । 'विभिन्न निकायको सहयोगमा उनको उपचारका लागि पहल भएको छ,' प्रजिअ गोविन्दमणि भुर्तेलले बताए । जिविस, नगरपालिका, महिला विकास र जिल्ला प्रशासनको सहयोगमा उपचारार्थ काठमाडौं पठाउने तयारी भएको भुर्तेलले बताए । आफन्तको घरमा डेरा गरी कृष्ण उच्चमावि पाटन केन्द्रमा एसएलसी दिइरहेकी उनीमाथि भएको घटनाको महिला अधिकारवादीले विरोध गरेका छन् ।कान्तिपुरदैनिक

    बम्जनको तपस्य भंग गर्न खोजेको भन्दै एक बिदेशी महिला ३ महिना देखि बन्धक

    निजगढ , चैत्र १३,
    तपस्वी रामबहादुर बम्जनको संरक्षामा सक्रिय बोधी श्रवण धर्म संघले एक विदेशी महिलालाई तीन महिनादेखि बन्धक बनाएको खुलासा भएको छ ।

    बाराको रतनपुरी गाविसको हलखोरिया जंगलमा सात बर्षदेखि तपस्यारत भनिएका बम्जनका सहयोगीले स्लोभागियाकी युवती मारिचीलाई तीन महिनादेखि सिमराको लामा होटलमा बन्धक बनाएको खुलासा भएको छ । बम्जनको तपस्या भंग गर्न टुनामुना गर्न खोजेको भन्दै संघले स्लोभागियाकी युवती मारिचीलाई बन्धक बनाएका हुन् ।

    मारिचीसहित सिन्धुपाल्चोक घर भएकी माता (आनी) नामकी महिलालाई बेपत्ता बनाएको स्रोतले बताएको छ । विदेशी महिला बन्धक भएको खबर कान्तिपुर र द काठमाण्डू पोस्टमा प्रकाशित भएपछि प्रहरीले खोजवीन गर्दा होटलमा भेटिएकी हुन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । कान्तिपुर

    आज बस्ने भनिएको माओवादी केन्द्रिय समितिको बैठक स्थगित

    काठमाडौ, चैत १३,
    आज बस्ने भनिएको माओवादी केन्द्रिय समितिको बैठक स्थगित भएको छ । वैद्य पक्ष सहभागी नहुने भएपछि बैठक स्थगित गरिएको श्रोतले जनाएको छ । बैठक मंगलवार विहान साँढे ७ वजेसम्मका लागि स्थगित गरिएको प्रबक्ता दिनानाथ शर्माले जानकारी दिनुभएको छ ।

    बैठकमा माओवादीभित्र चर्किएको अन्तरसंघर्ष र शान्ति, संविधान प्रमुख प्रस्ताव थियो । अध्यक्षले शान्ति संविधान, अन्तरसंघर्षलाई व्यवस्थित गर्नेलगायत प्रस्ताव तयार गर्नुभएको छ,' उनले भने, 'विचार संघर्षका कारण पार्टीमा विचलन कसरी आयो भन्ने विषयमा विश्लेषण हुनेछ ।

    माओवादीको केन्द्रिय समितिको बैठक सोमबार दिउँसो दुई बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने तय भएको थियो । वैद्य पक्षले पहिलेको बैठकका निर्णय लागु नभएको अवस्थामा केन्द्रीय समितिको बैठक औचित्यहिन भएको बताएको छ ।

    प्रधानमन्त्री आफैं वाग्मती र विष्णुमती सफा गर्न जाने

    काठमाडौं, चैत्र १२,
    सरकारले राष्ट्र विकासमा नागरिक सहयोग जुटाउन राष्ट्रिय स्वयंसेवा अभियान घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार कार्यक्रम गरी सरकारले यसलाई बाहिर ल्याएको हो ।
    अभियानमा विश्वविद्यालय तथा उच्च माविका विद्यार्थी, राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू, कर्मचारी, उद्यम व्यवसायी, सञ्चारकर्मी, कलाकार, समाजसेवी, गैरसरकारी संघसंस्था र गैरआवासीय नेपालीलाई सहभागी गराइनेछ । अभियानअन्तर्गत नदी सफाइ, सहर, बस्ती सरसफाइ, एक घर एक शौचालय, खानेपानी निर्माण तथा वितरण, मठमन्दिर, कला संस्कृतिको पुनर्निर्माण तथा जीर्णाद्धार, स्वास्थ्य, कृषि, पशुपालन वा व्यावसायिक खेतीसम्बन्धी कामलगायत छन् ।
    ‘निःशुल्क सहयोगलाई सत्कर्मका रूपमा लिएर’ नेपालीहरूकै स्रोत, साधन वा सीप प्रयोग गरी नागरिकलाई सर्वांगीण विकासमा सहभागी गराउनु यसको मूल उद्देश्य रहेको प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले बताए । कार्यक्रममा मह सञ्चारका मदनकृष्ण श्रेष्ठले सामाजिक काममा राजनीति नघुसाउन आग्रह गरे ।
    कार्यक्रममा प्रधानमन्त्री भट्टराईले अभियान सफल पार्न सबैलाई आग्रह गरे । ‘शान्ति र संविधानपछि हामी समृद्धिमै जाने हो,’ उनले भने, ‘त्यसकारण यो अभियान सुरु गरेका हौं ।’ उनले आफैं वाग्मती र विष्णुमती सफा गर्न जाने बताए ।

    राति-राति युवतीको घरमा सुत्‍न जाने ट्राफिक असई युवतीसँग रंगेहात समातिए

    उदयपुर, चैत १२,
    रातिराति युवतीको घरमा सुत्‍न जाने एक प्रहरी सहायक निरीक्षकलाई स्थानीयले रंगेहात समाती प्रहरीमा बुझाएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुर मातहत गाईघाट ट्राफिक इन्चार्ज रहेका असई धनबहादुर तामाङलाई शुक्रबार राति हतारी (नाम परिवर्तन)सँग रंगेहात समाति प्रहरीलाई बुझाइएको स्थानीयले बताए।
    उनीहरु दुवैलाई त्रियुगा नगरापालिका-२, स्थित नगरपालिका कार्यालयपछाडि रहेको युवतीको कोठाबाट समाति प्रहरीलाई जिम्मा दिएको स्थानीयले बताएका छन्। दिनहुँ कोठा आउने गरेका असईलाई देखेर युवतीका आफन्त र टोलबासीले केही दिनयता निगरानी गर्दै आएका थिए।
    यही क्रममा शुक्रबार राति युवतीको कोठा छिरेका उनी १२ बजेसम्म पनि ननिस्केपछि ५०/६० जनाको संख्यामा भेला भएका टोलबासीले घेरा हाली पक्राउ गरेका थिए। टोलबासी देखेपछि फुत्केर भागेका दुवैलाई सयमिटर टाढासम्म खेदेर नियन्त्रण्मा लिएको स्थानीय मौसम राईले बताइन्।
    जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र उप्रेतीले उनीहरु दुवैले आफूहरु साथीमात्र भएको प्रारम्भिक बयान दिएको बताए। उनले युवती एक्लै रहेका बेला साथी बोलाएर गएका बे्ला गाउँलेले पक्राउ गरी दिएको उजुरीका आधारमा दुवैलाई नियन्त्रणमा लिएर यथार्थ सोधपुछका लागि युवतीको आफन्तलाई बोलाएको बोलाएको बताए।
    पहाडबाट आएकी युवती गाईघाटमै डेरा लिएर कक्षा १२ मा पढ्दै गरेको खुलेको छ। चितवन घर भएका विवाहित असई तामाङले उनलाई एक्लै बसेको मौका पारेर फसाउन खोजेको देखेर विहे गरिदिन खोजेको स्थानीयले बताएका छन्।महेश्वर चामलिङ राई,नागरिकन्यूज

    मृत्युको नजिकबाट फर्किए दिनेश डिसी : पुरूषोत्तम प्रधान

    काठमाण्डौ, चैत्र ११,३६ घण्टा त मेसिनले पनि निरन्तर काम गर्दैन किनकी पाटपुर्जा विग्रन्छ भनेर उसलाई पनि रेष्ट दिनुपर्ने हुन्छ तर विना रेष्ट ४२ घण्टा निरन्तर काम गर्दा निर्देशक दिनेश डिसीलाई एक पटक दैवले हात थापिए दिएका छन् । हाल मायाज बारको सुटमा ब्यस्त डिसी एक साता अघि दोलखा गएका थिए जहाँ उनले ७ हजार ५ सय मिटर माथि पुगी सिनेमाको सुट गरे । तर निरन्तरको खटाईले उनी मृत्युको नजिकबाट फर्किएको क्यामेरा पर्सन पुरूषोत्तम प्रधानले जानकारी गराए ।

    घटना विस्तृतमा प्रधानको शब्दमा :यो खबर हामीले अलि अघिनै दिने कुरा गरेका थियो तर माहोल अर्कै बन्ला भनेर आज बाहिर ल्याएका हौ । काठमाण्डूमा ३६ घण्टा निरन्तर सुटिङ गरि हामी दोलखा तर्फ अघि बढ्यौ त्यो ३६ घण्टाको बिचमा आर्टिष्ट र केही टेक्निसियनहरूले रेष्ट गरेका थिए तर दिनेश जिले रेष्ट गर्नुभएन । यस्तै विना रेष्ट दोलखा पुग्दा त्यहा पनि होल डे नाईट सुटिङ हुदा सम्म सम्म उहाँले रेष्ट गुर्नुभएन । यसै बिचमा सिन्धुपाल्चोकको कालिञ्चोकमाथिको एरिया ७ हजार ५ सय मिटरको लोकेशन हन्टमा हामी निस्कियौ ।

    जुन टिममा म एक जना प्रोडक्सनको साथी र दिनेश जि हुनुहुन्थ्यो । कार माथि सम्म जान नसकेकाले हामीले चरिकोटमा कार राख्यौ र त्यहाँबाट बाईक लियौ । हामी साढे दुई बजे सम्म लोकेशन हन्टिङमा ब्यस्त थियौ त्यस पश्चात हामी दिउँसो होटल फर्कियौ । त्यसपश्चात अति भयो भनि हामी सवैले दुई घण्टा रेष्ट गर्‍यौ । रेष्ट गर्ने बेलामा चार बजेको थियो र उठ्दा ६ । त्यतिकैमा दिनेश जि पनि उठ्नु भयो अनि हामी सवै तर जव रेष्ट रूमबाट दिनेश जि निस्कनु भयो । त्यतिबेला उहाँले आफ्नो छातिमा हात राख्दै मलाई भन्नु भयो मेरो लिनु दिन यति छ परिवारलाई यसो भनिदिनु भनी म रहन्न जस्तो छ ।

    यति भन्दै उहाँ एक्कासी होसबाट हराउन थाल्नुभयो त्यतिकैमा हामीले उहाँलाई दुई वटा ब्ल्याङकेटले छोपेर एकछिन तातो बनायौ । बाहिर मौसम पनि चिसो थियो । त्यतिकैमा उहाँ होसबाट हराउन थालेपछी हामीले जिप रिक्वेष्ट गर्‍यौ अनि चरिकोट झर्यौ । डक्टरकोमा पुर्‍याएपछी सवै ठिक भयो । त्यसपश्चात हामीले बाकी सुटिङ्ग गर्‍यौ । दिनेश जिले अब म बाच्दिन भनेको त्यो छण निकै निकै हरर थियो ।

    उहाँको परिवारले पनि उहाँलाई फिल्म नगर्न बेलाबेलामा सल्लाह दिदो रहेछ तर दिनेश जिले ड्रिम प्रोजेक्ट स्वरूप तयार पारेको मायाज बार कुनै पनि हालतमा राम्रो बनाउन उहाँको कडा परिश्रम देख्दा म नै छक्क परे । अहिले दिनेश जिलाई पनि ठिकै छ । सिनेमाको ६० % छायाकंन पनि सकिएको छ । हामी अहिले काठमाण्डौ फर्किएका छौ र शुक्रबार होल टिमले रेष्ट पनि गर्‍यो ।

    मायाज बार सुनिल मानन्धरको लगानीमा निर्माण भएको सिनेमा हो जुन सिनेमा निर्माण गर्न मानन्धरले ४ बर्ष अघि देखि दिनेश डिसी आफ्नो फिल्मको निर्देशक भनी घोषणा गरेका थिए । नेपाली सिने उद्योगमा हरेक बिषयमा निर्देशकको क्रिएसन माथि प्रोड्यूसर हावी भैरहेको अवस्थामा मानन्धरले यो सिनेमाको स्क्रिप्ट समेत नहेरी विश्वास गरेका छन् दिनेश डिसीलाई । त्यहि बिश्वास दिलाउन पनि डिसी रातदिन मेहनत गरेर काम गरेका छन् । चलचित्रमा राजेश हमाल, करिष्मा मानन्धर, गजित बिष्ट, निशा अधिकारी लगायतले अभिनय गरेका छन् ।स्रोत-फिल्मीखबर

    ढोरपाटनमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, मानवीय क्षति छैन I

    बागलुङ, चैत ११,
    बिहान ११ बजेतिर पोखरावाट ढोरपाटनका लागि हेलिकोप्टर उडेको थियो । ढोरपाटन बन्यजन्तु आरक्ष क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको छ ।

    बाग्लुङ्गको पश्चिम क्षेत्रमा पर्ने रुकुमको माइकोट यामाखर्कमा फिस्टेल एयरको ए एस ३५० वी टु हेलिकप्टर दुर्घटना भएको हो ।
    पोखरावाट एक यात्रु वोकेर हिडेको हेलिकप्टर दुर्घटनाको जानकारी १:३० बजेतिर बिमानस्थललाई प्राप्त भएको थियो । बिमानको पुच्छर ठोक्किएर दुर्घटना भएता पनि मानवीय क्षति नभएको जानकारी आएको छ ।

    आरक्षमा शिकार खेल्न गएका पर्यटक विरामी परेपछि उनलाई उद्धार गर्न हेलिकप्टर गएको थियो । दुर्घटनास्थलमा हेलिकप्टर मर्मतका लागि अर्को हेलिकप्टर पठाइएको छ ।

    मर्मतका लागि लगिएको सामान मिलेर मर्मत भए आजै दुवै हेलिकप्टर फिर्ता हुन्छ फिस्टेल एयर स्रोतले भन्यो– मर्मत सम्भव नभए भोली आवश्यक मर्मत गरेर फिर्ता हुन्छ ।

    एसएलसी शान्तिपूर्ण

    काठमाडौ, चैत्र ७ - एसएलसी परीक्षाको पहिलो दिन मंगलबार अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षा मर्यादित, भयरहित र शान्तिपूर्ण भएको जनाएको छ । देशका केही केन्द्रमा अनियमितता गर्न खोज्नेलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया थालिएको नियन्त्रक डिल्लीराम रिमालले बताए ।
    जिल्लाका केही केन्द्रमा निरीक्षक, नक्कली निरीक्षक/परीक्षार्थी तथा परीक्षाको मर्यादा उल्लंघन गर्ने केही विद्यार्थी निलम्बन भएका छन् । मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक जीवन शर्मा पौडेलका अनुसार तराईका जिल्लामा पनि परीक्षा अपेक्षाअनुसार मर्यादित भएको छ । 'परीक्षा भयरहित शान्तिपूर्ण देखिएको छ,' बारा, पर्साको अनुगमनबाट फर्केका उनले भने, 'अनियमितता गर्न खोज्नेलाई तत्काल नियन्त्रणमा लिइएको छ ।' उपत्यकाका केन्द्रहरूमा परीक्षामा कुनै समस्यामा नआएको काठमाडौंका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले बताए ।

    जनसत्ताको कामबारे अदालतको निर्णय मान्छौं: गजुरेल

    १५ माघ, काठमाडौं ।
     एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले जनसत्ताले गरेको जग्गासम्वन्धि कामलाई बैधानिकता दिने निर्णय कुनै पनि हालतमा फिर्ता नहुने बताउनु भएको छ ।
    प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको एक मात्र राम्रो निर्णय जनसत्ताको कारोवारलाई बैद्यानिकता दिने भएको भन्दै उहाँले भन्नुभयो-’सरकारले गरेको एउटा मात्र राम्रो निर्णय पनि फिर्ता लिए त यो सरकार निकम्मा भई हाल्छ नी ।’ आइतबार राजधानीमा आयोजित कार्यक्रममा सचिव गजुरेलले जनसत्ताको कामलाई बैधानिकता दिने निर्णयका कारण सरकार नढल्ने दावी गर्नुभयो ।
    अदालतमा विचाराधिन रहेको विषयमा निर्णय फिर्ताको माग लिएर संसद अवरुद्ध गर्नु विधीको शासन विरोधी भएको भन्दै उहाँले अदालतको निर्णय माओवादीले मान्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’सरकारले निर्णय फिर्ता लिनु हुँदैन, अदालतले गर्ने फैसला हामी मान्छौं ।’
    जनताको समस्या समाधान गर्न गरेको निर्णयलाई काग्रेसले राजनीतिक जामा पहिनाएर विवाद उत्पन्न गरेको भन्दै गजुरेलले जनसत्ताको कामलाई बैद्यानिकता दिदा जनसत्ता फेरि कुनै पनि हालतमा नब्यूतिने दावी गर्नुभयो । उहाँल स्वेच्छिक अवकासमा जाने लडाकूहरुलाई तत्कालै विदा गर्न पार्टी तयार रहेको भन्दै उहाँले एक दुई दिनमै विदा गर्ने बताउनु भयो ।

    अगलागीमा नाबालकसहित एकै घरका पाँचको मृत्यु

    ५ माघ, धनकुटा ।
    धनकुटाको राजारानी गाविस-६ मा गएराति भएको आगलागीबाट आठ महिनाको नाबालकसहित एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
    हिलेबाट झण्डै ५५ किलोमिटर पूर्वमा पर्ने राजारानीस्थित बजारस्थित स्थानीय विनोद कटवालको घरमा आगलागी हुँदा उनीसहित श्रीमती अन्दाजी ३० वर्षीया राधा, जेठो छोरा १४ वर्षीय सुदन, माइलो १२ वर्षीय सुशील र ८ महिनाको कान्छो छोरा विराजको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल धनकुटा सदरमुकामबाट ५५ किलोमिटर पूर्वमा रहेको धनकुटा प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक शरदकुमार तामाङले जानकारी दिनुभयो ।
    तामाङका अनुसार राति ९ बजेबाट सुरु भएको आगलागी धनकुटाबाट गएको प्रहरी, स्थानीयबासिन्दा र धरानबाट गएको बारुण यन्त्रको सहायतामा बिहान १ बजेतिर नियन्त्रणमा आएको थियो । तामाङले आगलागीको कारण स्पष्ट भइनसके पनि बिजुलीको करेन्ट सर्त भइै आगलागी भएको हुनसक्ने आशंका गरिएको बताउनुभयो । घटनास्थलमा शव संकलनको काम भइरहेको र अहिलेसम्म दुईवटा शव फेला परेको उहाँले जानकारी दिनुभयो ।
    यसैबीच आवश्यक राहत सामग्रीसहित घटनास्थलको अनुगमनमा लागि प्रमुख जिल्ला अधिकारी खड्गबहादुर चापागाइँलगायतको एक टोली सदरमुकामबाट घटनास्थलका लागि प्रस्थान गरेको छ । टोलीमा प्रहरी नायव उपरीक्षक तामाङ, सशस्त्र प्रहरीका नायव उपरीक्षक नरेन्द्र सेन, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत कृष्ण खनाल र नेपाली सेनाको सल्लेरीस्थित गणका गणपति झमानसिंह थापामगर र रेडक्रसका प्रतिनिधि सहभागी छन् 
     
    Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
    Proudly powered by Blogger