अर्जुन सुवेदी, काठमाडौं, चैत २४- ठमेलकी सोनी गुरुङलाई बुधबार राति प्रहरी गस्ती टोलीले पक्राउ गर्यो। उनले रातभरि थुनामा बिताइन्। बिहान छुट्दा पाँच सय जरिवाना पनि तिर्नुपर्यो। सोनी पक्राउ पर्नुको कारण यस्तो थियो, जसलाई आजसम्म न उनले, न अरू कसैले अपराध ठान्ने गरेका छन्। त्यो हो, सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने।
एक रातलाई साथीको घर बस्न आएकी उनी राति ११ बजेतिर फोहोर फाल्न निस्केकी थिइन्। अचानक प्रहरी टोली आएर 'तपाईंले सार्वजनिक स्थानमा फोहोर फाल्नुभयो, तपाईंलाई पक्राउ गरिन्छ' भन्दा उनी चकित खाइन्।
'फोहोर फाल्दा पनि पक्राउ परिन्छ भन्ने त कल्पनै गरेको थिइनँ,' महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा उनले बिहीबार नागरिकसँग भनिन्, 'रातभरि थुनामा बसेर पाँच सय जरिवाना तिर्नुपर्यो, फोहोर फाल्दा पनि यत्रो सजाय त अति भो!'
सोनीलाई मात्र होइन, सार्वजनिक स्थानमा फोहोर फाल्दै गरेका १८ जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। सबैलाई रातभर थुनामा राखी पाँच/पाँच सय जरिवाना तिराएर छाडिएको छ। महानगरपालिका, ठमेल पर्यटन विकास परिषद् र प्रहरीको संयुक्त गस्ती टोलीले बुधबार राति लैनचौरबाट ३, ठमेलबाट ९, पकनाजोलबाट ४, सोह्रखुट्टेबाट १ र क्षेत्रपाटीबाट १ जनालाई पक्राउ गरेको हो।
बिहीबार सुरु 'सफा काठमाडौं हाम्रो काठमाडौं' अभियान क्रममा काठमाडौं महानगरपालिकाले राजधानीको सरसफाइमा कडाइ गरेको छ। कार्यक्रमको पहिलो चरण भएकाले थोरै सजाय गरिएको महानगरपालिकाले जनाएको छ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार सार्वजनिक स्थानमा फोहोर फाल्ने वा फोहोर व्यवस्थापनमा अवरोध गर्नेलाई १५ दिनदेखि ३ महिना कैद, ५ सयदेखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
राति जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोक्न सादा पोसाकमा गस्ती टोली परिचालन गर्न थालिएको छ। पकनाजोल, लैनचौर र ठमेलका १६ जना राति ११ बजे र सोह्रखुट्टे र क्षेत्रपाटीमा राति २ बजे समातिएका हुन्।
'जथाभावी फोहोर फाल्नेहरूलाई रातभरि थुनेर बिहान ५ सय जरिवानासहित कागज गराएर छाड्यौं,' महानगरीय प्रहरी प्रभाग स्रोहखुट्टेका प्रहरी निरीक्षक तिलक भारतीले नागरिकसँग भने, 'फोहोर व्यवस्थापनका लागि सरकारले सफाइ अभियान सुरु गरेका बेला पूर्वसूचना दिँदादिँदै अटेर गर्नेहरूलाई कारबाही गरेका हौं।'
उनका अनुसार फोहोर फाल्नेलाई कारबाही हुन्छ भनेर एक महिना पहिल्यैदेखि माइकिङ गरिँदै आएको थियो। यसबीच ड्रेसमै गस्ती गर्दा पनि नघटेपछि सादा पोसाकमा जान थालेको भारतीले बताए।
काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख केदारबहादुर अधिकारीले गाडी चलाउँदा मादकपदार्थ सेवन (मापसे) गर्नेलाई जस्तै फोहोर फाल्नेहरूमाथि पनि कडा कारबाही गरिने बताए। 'अहिले मापसे गरेर सवारी चलाउँदा कारबाहीमा परिन्छ भनेर चालकहरू जति सचेत छन्, सार्वजनिक स्थानमा फोहोर फाल्दा पनि कारबाहीमा परिन्छ भनेर सबैलाई त्यसैगरी सचेत पार्नु यो अभियानको उद्देश्य हो,' उनले भने।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले सार्वजनिक स्थानमा फोहोर गर्नेमाथि निगरानी बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेको बताए। 'सार्वजनिक स्थानमा फोहोर गर्नेलाई पक्राउ गरेर थुन्न परिपत्र जारी गरिसकेका छौं,' उनले भने।
सातदिने सरसफाइ अभियानमा प्रधानमन्त्री, मन्त्री, सचिव, कर्मचारी, सेना, प्रहरी लगायत सर्वसाधारण समेत उपस्थित हुने महानगरपालिकाले जनाएको छ। सफाइका लागि पाँच क्षेत्र विभाजन गरी बिहान ६ देखि १० बजेसम्म तोकिएको छ। महानगरले दैनिक १० हजार स्वयंसेवक सफाइमा लाग्ने बताएको छ।
Post a Comment
कृपया प्रतिक्रिया दिनुहोस्