Header Ads

Headlines News :
    Showing posts with label साहित्य. Show all posts
    Showing posts with label साहित्य. Show all posts

    गजल

    कस्तो आनौठो नाप नभाको जिन्दगी
    गुण स्तरको छाप नभाको जिन्दगी

    पोल्दै पिटियो भाग्य आरनमा हाल्दै,
    बन्यो धारिलो दाप नभाको जिन्दगी

    पुष माघको ठण्डी छेलियो सडकमै,
    माया मम्ताको ताप नभाको जिन्दगी

    युद्ध मैदान रै'छ जीवन जित्दा  नि,
    पिठ्मा स्याबासी धाप नभाको जिन्दगी

    कर्मै रहेछ खोटो चिताको पुग्दैन,
    दोषी पुर्पुरो फाप नभाको जिन्दगी

    कल्पना राई
    दक्षिण कोरिया

    डल्ली

    अरुणा छन्त्याल 'मिमोसा' गोंगबु, काठमाण्डौ
    म म्याग्दी जिल्लाको स्थानीय पत्रिका 'धौलागिरि' को पत्रकार ,क्याम्पसबाट आएर बचेको समय केही न केही समाचार टिप्नु मेरो दिनचर्या नै थियो । अहिले म भर्खर कलेजबाट फर्की आएकी थिएँ,भाउजूले मलाई-'ए! काली,डल्ली त आई रे' भनिन् । 'हँ?कहिले?' भनिसोधें,ऊ त अस्ति नै कतारबाट आएर पनि गाउँ गइसकेकी रैछ |उसले मलाई यसो फोन गरी खबर पनि नगरेकिले मेरो मन खिन्न भयो तर पक्कै उसको बाध्यता होला भन्ने सोचें |खाडी मुलुकबाट फर्की आएका नेपालीहरुको कथा-व्यथा नै बेग्लै हुन्छ । पछिल्लो समयमा म यस्तै परदेशीका कथा रिपोर्ट गर्थें,डल्ली आएकी सुनेपछि मलाई उसको कथा पनि टिप्न मन लाग्यो । अनि म मेरो रुकस्याक बोकी गाउँतिर हिडें ।

    गाउँ पुगेको भोलिपल्ट म डल्लीलाई भेट्न हिडें । ऊ घाँस काट्न गइसकेकी रैछ,म पनि वनतिरै लागें । सानामा हामी सँगै वनमा घाँस दाउरा गर्थ्यौं, आज उही बालसखालाई भेट्न मेरो मन चंचल भइरह्यो ।
    आफूसँग एकदम चिरपरिचित वन,मलाई उसलाई खोज्न धेरै बेर लागेन । त्यही हामी सानामा सँगै गट्टा खेल्ने उन्यूघारीमा एक्लै डोको बिसाएर पारि कतै हेर्दै टोलाईरहेकी थिई । मैले झट्ट आफ्नो क्यामेरा झिकेर उसले थाहा नपाउने गरी फोटो खिचें 'क्लिक्क' तर फ्ल्यास आउनेबित्तिक्कै ऊ झस्की अनि मतिर पुलुक्क हेरी । पांच वर्षपछि देखेपनि उसले मलाई चिनिहाली । 'आँबोई नि काली,तँ कतिखेर आइस् ?' भनेर सोधिहाली । अनि सामान्य सन्चो-बिसन्चोको कुरा भयो एकछिन ।

    कुरै कुरामा मैले उसलाई उसको विदेश छँदाको कथा भन्न भनें । उफ्! मैले आग्रहमात्र के गरेकी थिएँ,ऊ त मेरो काखमा घोप्टो परि धुरुधुरु रोई । 'आच्या यसरी नरोई न हो,तँलाई के दुख पर्यो ?भन्,म सक्दो तँलाई मदत गर्नेछु ..' उसको आँसु पुछिदिएँ अनि ढाडस दिएँ । उसको हिक्का थामिन केही समय लाग्यो । अनि उसले आफ्नो कथा सुनाई । मेरा आँखाबाट पनि आँसुका थोपा खसे । गरिबीले छोपेको परिवारमा हुर्केबढेकी,पन्ध्र वर्षकी मस्त तरुनी हुँदै लाहुरेसित पोइल गएकी थिई तर ऊ दोजिया हुँदै लाहुर गएको मान्छे,अर्कै स्वास्नी लिएर अन्तै बस्न थालेको रैछ । उसको काखमा एउटी छोरी भई । त्यही छोरीको भविष्यकोलागि केहि गर्छु भनी विदेशिने अठोट गरी । सामान्य घरेलु कामदारको रुपमा कतार पुगिछ तर विडम्वना चरम मानसिक र शारीरिक यातनाको शिकार भइछ । तलब त परै जाओस्,राम्ररी खान पनि पाउँदिन थिई रे । एकदिन त आफुलाई थुनेर राखेको कोठाको झ्यालबाट हामफालेर भाग्न सफल भइछ अनि दुतावासको शरणमा परिछ । ऊ गैर-कानुनी कामदार भएकीले स्वदेश फिर्नु पनि त्यति सजिलो थिएन तर दुई वर्षपछि 'रमजान' को बेला कतार सरकारको आममाफी पाउनेमा पर्ने भाग्यमानी ऊ पनि परिछ ।

    म एकछिन स्तब्ध भएँ,बेलाबेलामा पत्र-पत्रिकामा यस्तै पिडित नारीहरुका कथा-व्यथा पढ्थें,आज आफ्नै बालसखाको त्यही हविगत देख्दा मलाई आफुले कस्तो मदत गर्न सक्छु भन्ने कुरा सोच्न बाध्य बनायो । गाउँमा हामी सँगै आठसम्म पढ्यौं,त्यसमाथि पढ्न उसको रहर पनि भएन,घरको बाध्यता पनि त्यस्तै पर्यो ।मलाई पनि आमाबाले 'अब नपढ्' भनिरहेथे,मैले मानिन,जिद्दी गरेरै भएपनि दुइ घन्टाको उकालो-ओरालो काटेर 'चिमखोला'मा आई दससम्म पढें । एस.एल.सी.पछिचाहिँ म सदरमुकाममै बसेर पढाई र काम दुवैलाई संगसंगै लगें । ऊ भन्दै थिई-'आँबोई नि,म कति मुर्ख है?तैंले पढ्न जाम् भन्दा पनि म 'आ!धेरै पढेर के हुन्छ र?'भन्थें,अहिले बल्ल सोच्छु अलि पढेको भए आफ्नै देशमा स्यानो भएपनि काम पाउने थिएँ नि,यसरी अर्काको देशमा लुटिनु त पर्दैनथ्यो ।'ऊ फेरि सुँक्क-सुँक्क रुन थाली,मैले अङ्कमाल गरें-'भो धेरै नरोई,तँलाई मात्र होइन अरु धेरैलाई पनि यस्तै दुख परेछ बुझिस्,नरो हामी छम् तँलाई साथ दिने..।'
    डल्लीको कथा टिपेर भोलिपल्ट बिहानै म सदरमुकाम फर्किहालें । अनि उसको कथाको रिपोर्ट तयार पारें ।लेखको अन्ततिर मैले यसरि आफ्नो विचार पोखें-'......समस्त आमा तथा महिला समुह! गरिबी पिडित हाम्रा दिदीबहिनीहरुलाई विदेश-पिडित हुन हामी रोक्न त सकेनौं सकेनौं तर थोरै भएपनि आर्थिक सहायता गर्न नचुकौँ साथै उनलाई आत्मनिर्भर बन्न सीप-तालिमको अवसर पनि विकास गरिदिउँ ।'

    मेरो रिपोर्टले साँच्चिकै जादू गरेछ । डल्लीलाई 'छन्त्याल आमा समुह'म्याग्दी जिल्लाबाट आर्थिक सहयोग भयो अनि सदरमुकाममा कार्यरत 'महिला समुहबाट चाहिँ अल्लो व्यवसायको तालिम प्रदान गरियो जसकारण ऊ अचेल गाउँमै खुशीसाथ बाँच्न सकेकी छ । मैले थोरै भएपनि डल्लीलाई सहयोग गर्न सकेकोमा मलाई सन्तुष्टि भयो । अब फेरी पनि यस्तै सत्य-कथाहरु टिपेर दुखियाको घाउमा मलम दल्न सकियोस् भनी मैले मनमनै धन्यवादसाथ परमेश्वरलाई प्रार्थना चढाएँ ।

    मैले सपना देखें

    अहो, आज याद आयो,
    सपनीमा छोरीले बोलाएको देखें । 
    नारायण प्रसाद रेग्मी
    जगतभञ्ज्याङ–९,चिसापानी, स्याङ्जा
    हाल: साउदी अरब
    एक्लै श्रीमती विस्तारामा,
    टोलाएको देखें ।

    उमेरले पचास काटेकी आमा,
    सुस्केरा काट्दै ।
    बीस लिटरको गाग्री बोकी,
    पँधेरामा धाएको देखें ।

    साठी नाघेका बुढा बुबा,
    लौरो टेकी ।
    खेत बारी पाखा-पखेरा,
    चहारेको देखें ।
    खरबारी र जंगलको हालत उस्तै ।
    गाउँलेले रमिता हेरी,
    कुरा काटेको देखें ।

    अहो ! अब गर्छु काम जोत्छु हलो,
    भनी बिउँझी हेर्दा ।
    साउदीको एक एकान्त रूमको,
    बिस्तारामा पल्टिरहेको देखें ।

    सक्दिनथें होला र कमाउन यति,
    खनेको भए ती बाँझा खेतबारी ।
    विदेशीले आएर यहाँ,
    मरुभूमि खनी कैयौं कमाएको देखें ।
    गल्फको देश, साउदीको बसाई,
    सपनामा देखेको ।
    यो यथार्थलाई मैले,
    कविताको रुपमा लेखें ।
    यो यथार्थलाई मैले,
    कविताको रुपमा लेखें ।

    गजल

    यो तिजमा लिन आउन सकिन म सानी दिदी
    यो भाईको व्यथालाई वुझिदिनु ज्ञानी दिदी।
    समयको व्यस्तताले यो पाली चैं चिट्ठी लेखें
    अर्को पाली गरौंला है फोन् मा कुरा कानी दिदी।
    अलि छिट्टै जानु होला व्वारी लाई मद्दत् हुन्छ
    तिज मान्न उनी पनि होलीन् माईत् जानी दिदी।
    म आंउदा सानै थिईन् अली धेरै रुने गर्थीन्
    सुध्रियो कि सुध्रिएन भान्जीको त्यो वानी दिदी।
    आटो पिठो जे भएनी तिज् को दर संझिएर
    आमा संगै हांसी खुशी खानु मिठो मानी दिदी।
    हरीया ति चुरा अनी रातो रातो सारी संगै
    छम्म छमी नाच्नु होला परे पनि पानी दिदी

    अशोक गौतम क्षितिज
    पौंदीअमराई -३ गुल्मी
    हाल- प्रवास खाडी वाट

    गजल

    वाध्यता ले प्रवासी म हुंदा गजल लेखें
    मन् का वह पिडाहरु फुंदा गजल लेखें।
    ठुला भारी वोक्दा खेरी पेट पनि कर्करौंछ
    गर्मी संगै खुन् पसिना चुंदा गजल लेखें।
    दिन् भर् को थकान् अनि त्यसै माथी तिता वचन्
    नसकेर खप्न मन रुंदा गजल लेखें।
    वाण जस्ता वचन् र मात्रीभुमी संझनामा
    रुंदा रुंदै आशुले मुख् धुंदा गजल लेखें।
    धन् कमाउछु सुखी वन्छु ठुलो मान्छे वन्छु
    भन्ने सप्ना यो मन मै कुंदा गजल लेखे।
    अशोक गौतम क्षितिज
    पौंदीअमराई -३ गुल्मी
    हाल- प्रवास खाडी वाट

    गजल

    नजिक आउ चिनजान गरौं, पिरतीको गीत गाउँला
    दुबैको मन मिल्यो भने जुगै जाने मायाँ लाउँला

    आफ्नै तन, आफ्नै मन एक–अर्कालाई सुम्पिएर,
    तिम्रो–मेरो मायाँमा नै सारा यो संसार पाउँला

    घरजम गरेपछि हामी बाबा–आमा भेट््न भन्दै,
    माइती–घरमा दुबैजना हात समाउँदै सँगै जाउँला

    सोच्नुपर्छ सँधै हामी सुख–दुःख बराबरी,
    एकै छाक भए पनि हाँसी–खुशी रमाई खाउँला

    लेक चढ्दा वेशी झर्दा झर्को कहिल्यै नमानेर,
    यो मनसँग त्यो मनको स्पर्श गर्दै धाउँला

    यो समाजमा हाम्रो जोडी नमुना बनाएर,
    हामी दुई सबैको मन–मुटुभित्र छाउँला

    अशोक गौतम ‘क्षितिज’
    पौदी–अमराई

    गजल (पुनः प्रतिउत्तर आमालाई)

    प्रतिउत्तर के लेखूँ खै ! केही छैन बात आमा
    चिठी पढें, भक्कानिएँ, रोएँ पूरै रात आमा

    हत्या, हिंसा, अपहरण देशको चाला सधैं उस्तै,
    सुन फलाउथें, देशमै मैले राम्रो माहोल पा’त आमा

    भोकमरी र महंगीको चपेटामा हामी गरीब,
    धनी साहुको घर–घरमा हुँदा अन्न खात आमा

    आजसम्म काम गरेको तलव दे म नेपाल जान्छु
    भन्यो भने चिम्म गर्दै हान्छ मलाई लात आमा

    माइतै बस्न दिन उनलाई नातिलाई घर ल्याउनू,
    मामाघरमा बस्यो भने चढ्छ उसलाई मात आमा

    अर्को महिना ब्याज कट्टा गरी सावैं बुझाउँला,
    विन्ती गर्दै डल्ले साहुलाई जोड्नु दुवै हात आमा

    बहिनीको पढाई छुट्दा मन झनै दुख्यो मेरो,
    अभागिनी रै’छिन् बैनी पाइनन् माइती साथ आमा

    नरे पनि भर्ती भा’को नातावादको सिफारिसले
    म पनि त हुन्थें होला, ठाउँमा आफ्नो भा’ त आमा

    बदलाझैं भाग्यले नि खोस्न मात्रै जान्यो हाम्रो,
    कहिले आउला सुदिन खै  खै ! सधै भयो घात आमा

    अशोक गौतम ‘क्षितिज’
    पौदी–अमराई–३, गुल्मी

    जीवन

    मायाँ नै मायाँ छ भन्थे जिन्दगी,
    चोटै चोटले बल्झिएको घाउ रहेछ
    खुशी नै खुशीको बहार छ भन्थे जिन्दगी,
    आँसु नै आँसुको सागर पो रहेछ
    गुलाबको फूलजस्तै भन्थे जिन्दगी
    त्यही फूललाई सुकाउने चैत–मासको घाम पो रहेछ
    खुशी र सुख हुँदा साथ दिन्छु भन्ने जिन्दगीले
    दुःखको भुमरीमा पर्दा लात पो हान्दो रहेछ,
    आखिर के रहेछ त जिन्दगी ?

    दीपिका भुषाल
    पर्वत
    हालः इजरायल

    गजल (आमाको प्रत्युत्तर पत्र, छोरालाई)

    तिम्रो चिठी पाएपछि धेरै आँसु झरे छोरा
    होसमा छु कि बेहोसमा दोधारमा परे छोरा

    चर्को घाममा ढुंगा फोर्छु भन्थ्यौ तिम्ले विदेशमा,
    यहीं पनि सुन फल्छ त्यति दुःख गरे छोरा

    त्यसै पनि लुरे थियौ, झनै धेरै दुब्लायौ कि !
    आठ घण्टे ड्युटी भन्थ्यौ, सोह्र घण्टा छ रे छोरा

    आजसम्म काम गरेको तलव बुझी आउ भो घर
    कसले हेर्ला बहिनीलाई यत्तिकै म मरे छोरा

    मीठो खान, पार्लर जान आज–भोलि नपाएर,
    बुहारी र नाति पनि माइतै बसाईं सरे छोरा

    अन्तिम मिति आइसक्यो, घरमा पैसा छैन कत्ति,
    के भनेर पठाउने हो, आउँछन् साहू भरे छोरा

    खर्च बढ्यो महंगीले बैनीको फि तिरिएन,
    अभावैमा बाँच्ने हाम्रो कस्तो कर्म हरे ! छोरा

    सरकारी जागिरे छ, भर्ती भयो साथी पनि,
    तिमीभन्दा कमजोर थियो तिम्रो साथी नरे छोरा

    अब त खै ! एक दुई वर्ष–भन्दा धेरै बाँच्दिन कि ?
    होसै छैन, पीरै–पीरले भै’छु बर–बरे छोरा

    सन्ध्या भण्डारी तथा विना भण्डारी
    फर्साटिकट, रुपन्देही
    नेपाल

    गजल (आमालाई पत्र)

    रहस्यका शब्द कोरी पठा’को छु खाममा आमा
    ढुंगा–गिटी फोर्ने गर्छु टन्टलापुर घाममा आमा

    आठ घण्टा भने, गरेको छु सोह्र घण्टा,
    खटेको छु जेन–तेन रात–दिन, साममाआमा

    चोट लाग्छ, ऐया भन्छु, दुख्छ जीउ, शिर पाउ,
    दवाई–मूलो गर्नु छैन, राता–निला डाममा आमा

    पल्लो गाउँको हर्केको नि उही चाला मेरोजस्तै,
    हात राख्छ गनाउने शौचालय–जाममा आमा

    नेपालीले नेपालीलाई नचिनेझैं गर्दाखेरि,
    विपत पर्दा कसको साथ पाउनु पराइ ठाममा आमा

    लग्यो अरे, ब्याजको सट्टा लैनो भैंसी डल्ले साहुले,
    मन दुख्यो, खुन–पसिना साट्दाखेरि दाममा आमा

    अर्को महिना रामे आउँछ, पठाउछु धन ऋण तिर्नु,
    घर–बारी उकासेर गर्नु आफ्नै नाममा आमा

    तोती बोली बोल्दै थियो, छाडी आउँदा सानो छोरा,
    सम्झनामा आँसु–धारा खस्छन् खाँदा माममा आमा

    उनलाई पनि नरमाइलो लाग्छ होला बेला–बेला,
    माइत भेज्नु बुहारीलाई मेला–पर्व राममा आमा

    उमेरले नि साठी नाघ्यौ, पेटको दीर्घ–रोगी थियौ,
    बैंशजस्तो हुन्न अब ध्यान नदिनु काममा आमा

    परिवर्तन भा’छ अरे जिज्ञासाले मुटु पोल्छ,
    आजकल त मोटर पनि जान्छ अरे गाममा आमा

    अशोक गौतम ‘क्षितिज’
    पौदी अमराई–३, गुल्मी
    हालः खाडीमुलुक

    गजल

    मनभरि श्रद्धा बोकी गह्रौंकाली आएँ
    मनोकांक्षा पुरा गर्ने शक्ति देवी पाएँ

    जंगल र भीर–पाखा हुँदै जाने पर्ने,
    कोइलीको स्वर सुन्दै मैले गीत गाएँ

    कति राम्रो हिउँचुली, उता काली–गंगा,
    माथिबाट चारैतिर यसो नजर लाएँ

    वनभरि फलेका ती ऐसेलुका दाना,
    टप्प टिपी अलिकति मैले पनि खाएँ
                          ***
    प्रदीप ज्ञवाली ‘विवश’
    तुलसी भञ्ज्याङ–४, दिमिक
    स्याङ्जा

    गजल

    पौरखीं भै खेत रोपौ खोरिया त्यो फांड्दै जाऔं
    मल हुन्छँ झांर्पात् सबै त्यही हिलो्मा गाड्दै जाऔं
    .
    राम्रो बाली पक्कै होला बिजं  राम्रो रोपे देखि
    हर्लक्कको बिजं रोपी सानो तिनो छाट्दै जाऔं
    .
    दिन दिनै पानी हाल्दै सकेजती गोड्मेल गरौ
    किरा लाग्ला होस् गर्नु बेला बेला झाट्दै जाऔं
    .
    राम्रो सँग पाकेपछी बाली काट्नु मौसम् हेरी
    फँल्छ धाँन लहलह नहल्लाई काट्दै जाऔं
    .
    केही दिन सुक्नु पर्छ नाआत्तिउ है कुन्यु लाई
    दँदेराले दाई हाली धाँन सबै माड्दै जाऔं
    .
    भाकारी त्यो टम्म छोपी मुसा देखि जोगाउनु है
    योसाल् लाई अन्न पुग्यो खुशी अब बाड्दै जाऔं

    रमेश अर्याल
    अर्जुन चौपारी–४
    स्याङ्जा

    मेरो छोरा

    नरुनु है मेरो बाबु आमा भनी–भनी
    तिम्रो आमा बसेकी छ दिन गनी–गनी

    कहिले होला मेरो बाबु तिमीसँग भेट्ने
    तिमीलाई सम्झ्यो भने आफ्नै मुटु रेट्ने

    फोनमा तिम्रो बोली सुन्दा कस्तो कस्तो हुन्छ
    एकान्तमा सम्झँदा त झनै मन रुन्छ

    आउनु आमा अत्यार लाग्यो नभन है छोरा
    खुशीले त तिम्री आमा कहाँ बसेकी हो र

    मजवुरी छ बाबु मलाई परदेशिनु पर्ने
    तिम्रै लागि सम्झेर हो मैले यहाँ काम गर्ने

    मुटुको प्रत्येक धड्कनमा तिमी धड्की रहा’छौ
    कहाँ देखुँ कहिले देखुँ तिमी कत्रो भा’छौ

    पर्खी बस बाबु मलाई छिट्टै घर फर्किनेछु
    तिमीलाई काखमा समाई धेरै ममता दिनेछु

    दीपा शर्मा (लम्साल)
    पर्वत कुर्घा (हालः परदेशी भूमिबाट)
    (परदेशिन बाध्य आमाको वेदना ओकल्दै)

    लोक–भजन (प्रार्थना)

    *असत्यको नाश गरी सत्यमाथि न्याय
    मनुष्यको रक्षा गर्ने तिमीलाई नै पाएँ
    जय गह्रौंकाली
    जय गह्रौंकाली, पूजा गर्छु फूलपाती, दियो र धूप बाली ।

    *सबकी माता देवी तिमी पूर्णता छ शक्ति
    वर दिने मातालाई गर्छौं श्रद्धा–भक्ति
    जय गह्रौंकाली
    जय गह्रौंकाली, पूजा गर्छौं फूलपाती, दियो र धूप बाली

    *मन्दिर परिक्रमा गर्दै भन्छौं, जय जय हरे
    सारा लोक अब तिम्रै शरणमा परे
    जय गह्रौंकाली
    जय गह्रौकाली, पूजा गर्छु फूलपाती, दियो र धूप बाली ।

    मदन मायाँलु
    स्याङ्जा (हालः खाडी मुलुकबाट)
    (इमेलमार्फत प्राप्त लेख)
     
    Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
    Proudly powered by Blogger