Header Ads

Headlines News :
Home » » गजल (पुनः प्रतिउत्तर आमालाई)

गजल (पुनः प्रतिउत्तर आमालाई)

प्रतिउत्तर के लेखूँ खै ! केही छैन बात आमा
चिठी पढें, भक्कानिएँ, रोएँ पूरै रात आमा

हत्या, हिंसा, अपहरण देशको चाला सधैं उस्तै,
सुन फलाउथें, देशमै मैले राम्रो माहोल पा’त आमा

भोकमरी र महंगीको चपेटामा हामी गरीब,
धनी साहुको घर–घरमा हुँदा अन्न खात आमा

आजसम्म काम गरेको तलव दे म नेपाल जान्छु
भन्यो भने चिम्म गर्दै हान्छ मलाई लात आमा

माइतै बस्न दिन उनलाई नातिलाई घर ल्याउनू,
मामाघरमा बस्यो भने चढ्छ उसलाई मात आमा

अर्को महिना ब्याज कट्टा गरी सावैं बुझाउँला,
विन्ती गर्दै डल्ले साहुलाई जोड्नु दुवै हात आमा

बहिनीको पढाई छुट्दा मन झनै दुख्यो मेरो,
अभागिनी रै’छिन् बैनी पाइनन् माइती साथ आमा

नरे पनि भर्ती भा’को नातावादको सिफारिसले
म पनि त हुन्थें होला, ठाउँमा आफ्नो भा’ त आमा

बदलाझैं भाग्यले नि खोस्न मात्रै जान्यो हाम्रो,
कहिले आउला सुदिन खै  खै ! सधै भयो घात आमा

अशोक गौतम ‘क्षितिज’
पौदी–अमराई–३, गुल्मी
Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger