Header Ads

Headlines News :
Home » » छिट्टै जन्मिन्छन्, छिट्टै जन्माउँछन्

छिट्टै जन्मिन्छन्, छिट्टै जन्माउँछन्

चाँदनी हमाल, चितवन, चैत २५ -लोथरडाँडाकी चरीमाया चेपाङको १३ वर्षमै बिहे भो। १५ वर्षमा उनले छोरो जन्माइन् तर तीन महिनामै बित्यो। १६ वर्षमा उनले फेरि छोरी जन्माइन्। यसपटक पनि उनको सन्तानसुख महिना दिन टिकेन।
१८ वर्षे उनी अहिले फेरि गर्भवती छिन्। तर उनलाई आफू गर्भवती भएको थाहा छैन। 'खै? बच्चा छ कि छैन, थाहा छैन,' भन्छिन्, 'कसलाई पो थाहा होला र?'
कलिलै उमेरमा खिंग्रङ्ग जिउकी दोजिया उनी कमजोर देखिन्छिन्।
बुबा भीमलाल चेपाङलाई छोरीको अवस्थाबारे कुनै चिन्ता छैन। 'गाउँमा यस्तै हो, छिट्टै जन्मिन्छन्, अनि छिट्टै जन्माउँछन्।' भीमलालले नागरिकसँग भने, 'यिनकी आमाले चरीमायालाई पनि १४ वर्षमै जन्माएकी।'
बिहेबर्तुन वा रमाइलोका क्रममा सानैमा केटाकेटीको मन मिलेपछि उनीहरुको बिहे हुने गरेको भीमलालले बताए। 'धेरैले भगाएरै लान्छन्,' उनी थप्छन्, 'राजी भए पनि बिहे गरिदिन गाउँघरमा पैसा हुँदैन।'
चरीमायाजस्तै सानैमा बिहे गरेकी निनीमाया चेपाङको पनि दुई सन्तान छन्। १५ वर्षमा भागीबिहे गरेकी उनको अहिले एक महिनाकी छोरी, तीन वर्षको छोरो छ। उनका बाबु ४५ वर्षीय तिलकबहादुर चेपाङको पनि चार छोरी र चार छोरा थिए। सानैमा बिहे गरेकी उनकी आमाले वर्षको अन्तरमा लगातार आठ सन्तान जन्माइन्। ।
स्कुले उमेरमै बिहे गरेकी ठकुरी भञ्ज्याङकी बबिता चेपाङ स्कुले पोसाकमै अहिले नौमहिने छोरो च्यापेर हिँड्छिन्। उनका श्रीमान उमेश चेपाङ कक्षा ९ मा पढ्छन् । तर बबिताले चरीमायाले झैँ स्कुल देख्न पाइनन्। रहर मेट्नकै लागि श्रीमानलाई स्कुलले दिएको कपडा बबिताले सिलाएर लाएकी छन्। काखमा छोरा लिएरै बिँडीको सर्को तान्ने उनलाई त्यसको धुवाँले छोरालाई असर पार्छ भन्ने ज्ञान पनि छैन। 'गाउँमा सबैले खान्छन्, त्यसैले मैले पनि खाएकी,' उनी सहज सवाफ दिन्छिन्, 'के फाइदा हुन्छ थाहा छैन, बेफाइदा हुन्छ र?'
स्थानीयलाई बिँडी खान खासै गाह्रो छैन। 'घरछेउछाउमा सुर्ती वा गाँजा रोप्यो, सुकेको सालको पातमा बटार्‍यो, बिँडी तयार।
बबिताका बुबा चन्द्रबहादुर प्रजा भन्छन्, 'नभएका बेला सहरबाट सुर्ती किनेर पनि ल्याइन्छ।' बिँडी, चुरोटमात्र होइन, गाउँघरमा बन्ने जाँडरक्सी पनि उनीहरुलाई नभइहुन्न।
घरमा कमै चामल कम भए पनि कुहाएर बनाएको जाँडरक्सी बोकेरै लेकबेसी हिँड्छन् उनीहरु। 'के गर्ने, अरू खानेकुरा हुन्न गाउँमा, एक बटुको खायो, टन्न अघायो,' बबिताका ससुरा रेशमलाल प्रजा भन्छन्।
छोरीबुहारी गर्भवती हुँदा पनि उनीहरुले यस्तै खान्की खाने गरेको उनले बताए।
सानो उमेरकी बुहारी सुत्केरी व्यथाले छट्पटिँदा उनले अस्पताल वा हेेल्थपोस्ट नलगी गोठमा राखेर सुत्केरी गराए। पहाडको बाटो अप्ठेरो भएकाले पनि कुनै बालबालिकाले ठूलो भइन्जेल पनि अस्पतालको मुख देख्न नपाएको बताउँछन्। बच्चा नझरे गाउँका वृद्ध महिलाले पेट थिचेर बच्चा निकाल्ने गरेको सुनाए उनले।
आधा दर्जन सन्तान घरमै जन्माएर हुर्काईसकेकी कोराककी २७ वर्षीया राममाया चेपाङलाई सुत्केरी हुँदाको बिस्याहारले अझै छाडेको छैन। 'पेट दुख्छ, रिंगटा लाग्छ, कम्मर दुख्छ,' उनी सुनाउँछिन्, 'के गर्ने, कसले हेर्ने, थाहा छैन। हेल्थपोस्ट जान हिँडेर दिनभर लाग्छ।'
चरीमायादेखि राममायासम्म मात्र होइन, उनका पुस्तौँ पुस्ताले पनि पहाड र जंगलमा बाल्यकालको कुनै दिन नदेखी छिट्टै जन्मेर छिट्टै सन्तान जन्माए। तर सन्तानका लागि आवश्यक वातावरण नहुँदा सानैमा उनीहरू मृत्युको मुखमा पनि पुगे। त्यसैले पनि अन्य वर्गको जनसंख्या वृद्धि हुँदै गर्दा विपन्न वर्गका चेपाङ समुदायको भने जनसंख्या बढ्न सकेको छैन। अरु जातिको संख्याले देशकै जनसंख्या दोब्बर पुग्न लाग्दा चेपाङ समुदायको जनसंख्या भने अहिलेसम्म एक लाख पनि नाघेको छैन।
चरीमाया जन्माएर चेपाङको इतिहास धान्ने चरीमायाहरुका लागि स्वस्थ जीवनशैली आवश्यक रहेको वरिष्ठ चिकित्सक विजय पौडेलले बताए। 'चेपाङ गाउँमा महिला स्वास्थ्यका लागि सरकारले एकपटक होइन, पटकपटक शिविर लानुपर्छ,' उनले भने। कोराकमा स्थानीय निकायले राखेको घुम्ती सदरमुकाममा स्वास्थ्य जाँच गर्न पुगेका उनले जनसंख्या घटाउने उपायभन्दा पनि स्वस्थ प्रजननको वातावरण चेपाङ समुदायलाई दिनुपर्ने बताए।
लोपोन्मुख यस समुदायको विकासका लागि महिलालाई चेतनशील बनाउन अभियानै चलाउनुपर्ने उनको भनाइ छ।
कोराक शिविरमा प्रसूति सेवा राखिए पनि चेतनाकै अभावले सेवा लिन एकजना पनि आएनन्। महिला स्वास्थ्यका अरु सेवा लिन पनि लाज र अलमलमै रहेर धेरैजना त्यसै फर्किए।
Share this post :

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger