Header Ads

Headlines News :
Home » , » गह्रौंकालिका भगवती मन्दिर क्षेत्र पिछडिनुको एउटा प्रमुख कारण

गह्रौंकालिका भगवती मन्दिर क्षेत्र पिछडिनुको एउटा प्रमुख कारण

स्याङ्जा जिल्लाको दक्षिणी भागमा रहेको, समस्त स्याङ्जा जिल्लाकै एउटा नमुना गाविसको रुपमा परिचित केवरे भञ्ज्याङ गाउँ विकास समिति औसत रुपमा विकसित मानिन्छ । जसको श्रेय स्थानीय काँग्रसी नेता श्री लक्ष्मीकान्त रेग्मी ज्यूलाई जाने कुरा कसैले नकार्न सकिन्न । उहाँकै पहलमा ‘श्री बालसिद्ध उच्च माध्यमिक विद्यालय’ पाठ्य–पुस्तक सहित निःशुल्क शिक्षा हासिल गर्ने नेपालकै एक मात्र नमुना विद्यालयको रुपमा सर्वपरिचित भएकै कुरा हो । जुन कुरा बेला–बेलामा सरकारी पत्रिकामा समेत  प्रकाशित भएको थियो । स्थानीय निकायमा हुने विभिन्न विकासका गतिविधिहरु उहाँकै  नेतृत्व र निर्देशनमा सञ्चालन हुन्छ ।

 गाविसका वडा नं. १, ४ ,५, ६ र ७ मा पर्ने बनकट्टा, केवरे भञ्ज्याङ, सपाउँदे, फिर्से र ताप्के गाउँहरुमा भएका यातायात, शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार, खानेपानी लगायत अन्य विकास निर्माणका कार्यहरुलाई उहाँको उदाहरणीय कार्यको रुपमा लिन सकिन्छ । आसन्न गाविसहरुको तुलनामा पनि केवरे भञ्ज्याङ गाविसलाई अग्रपंक्तिमा उभ्याउन सफल उहाँको योगदान मुल्याङ्कनका लागि काफी छ ।  उहाँकै अग्रतामा आज केवरे भञ्ज्याङ अघोषित भएपनि एउटा ग्रामीण बजारको रुपमा स्थापित छ ।

पञ्चायतकालका प्रधानपञ्च र वि.सं. २०४६ सालपछि नेपाली काँग्रेसका तर्फबाट स्थानीय कार्यकर्ताका पनि नेतृत्व गर्दै प्रजातन्त्र स्थापनापश्चातको पहिलो स्थानीय निर्वाचनमा गाविस अध्यक्षको रुपमा निर्वाचित भई आजको यो स्थितिसम्म आईपुग्दा निरन्तर रुपमा आफ्नो टोलको विकास तथा सुधारको लागि कटिवद्ध रुपमा लागिरहने नेता तथा वरिष्ठ समाजसेवी श्री लक्ष्मीकान्त रेग्मी ज्यूलाई आज गाविसकै अगुवा अभिभावक र सल्लाहकारका रुपमा लिइन्छ ।

तर सोही गाविसमा पर्ने वडा नं. २, ३, ८ र ९ मा पर्ने रिप–काभ्रे, पैदी र काफलडाँडा, कुमस्वाँरा–ठाँटीस्वाँरा साथै काफलडाँडानिकट पवित्र स्थल गह्रौंकालिका भने उहाँको समाजसेवाको क्षेत्रभित्र कहिल्यै पर्न सकेन । यी गाउँहरु उहाँको समाजसेवी नजरबाट सधैं सौतेनी ब्यवहारको उपेक्षा सहिरहन बाध्य भइरह्यो । गाविसमा प्राप्त हुने सरकारी बजेट विनियोजनमा कुनै प्राथमिकता नपाउने ती ग्रामीण क्षेत्रहरु यदि स्थानीय ब्यक्तिहरु सक्रिय नभई दिएको भए तुलनात्मक रुपमा मसानघाट सावित हुने थिए । ती उपेक्षित गाउँहरुमा निर्माण भएको चिथा–भञ्ज्याङ रोग्दी–ठाँटी सडक तथा अन्य ग्रामीण सडक, काफलडाँडा देउराली भञ्ज्याङदेखि गह्रौंकालिका मन्दिरसम्म जानका लागि जैथकसम्मको सडक निर्माणमा पनि कुनै सहयोगी पहलसम्म नभईदिंदा बुज्रुक–वर्ग उहाँलाई निस्वार्थी समाजसेवी मान्न तयार छैनन् । अझ ग्रामीण विद्युतीकरणका क्रममा प्रतिशोधी धारणाका साथ प्रतिस्पर्धात्मक रुपमा गाविसको सार्वजनिक अविनियोजित बजेट आफू–खुशी दुरुपयोग गर्नसमेत पछाडि पर्नुभएन । काफलडाँडा खानेपानी योजनामा त झन उहाँको कुनै संलग्नता नै देखिएन । साँच्चै भन्ने हो भने, पुर्खौदेखि मान्दै आइएको सबैको आस्थाको पवित्र स्थल, (जसले स्याङ्जाको चिनारीको रुपमा भावी पर्यटकीय सम्भावना राख्दछ) लाई आजसम्म कुनै किसिमको बजेट रकम विभाजन भएको अभिलेख छ्रैन । यी क्षेत्रहरुमा जति पनि विकासका कार्यहरु भए, ती सबै जनताकै पहल र सहयोगबाट सञ्चालित थिए । गाविसको तर्फबाट कुनै सहयोग जुट्न सकेन ।

वडा नं. ५, ६ र ७ मा जनताको अधिक बसोबास रहेको छ । यद्यपि हरेक दृष्टिकोणबाट गाविसको समुचित र सन्तुलित विकास अपरिहार्य थियो । यसरी हेर्दा उहाँले विकास र गाविसमा प्राप्त हुने बजेट रकम आफ्नो पदीय स्वार्थ र निर्वाचनमा  विजयी बन्नका लागि आवश्यक मतका आधारमा प्रयोग गरिएको देखिन्छ । साथै गाविसमा परियोजना तथा शैक्षिक संस्थाहरुमा उपलब्ध हुने रोजगारीका अवसरहरुलाई क्षमता र प्रतिस्पर्धाका आधारमा नभई पारिवारिक भर्ती केन्द्रका रुपमा प्रयोग गर्नु अनि ती क्षेत्रहरुमा नातावाद र कृपावाद हावी हुनुले उहाँको समाजसेवी भावना स्वार्थपूर्ण हो भन्ने कुरा अनुमान मात्र नभई स्पष्ट हुन्छ । जुन उहाँबाट अनपेक्षित रुपमा पनि हुनु राम्रो होइन ।

यदि गाविसमा प्राप्त हुने बजेट निस्वार्थताका साथ समानुपातिक ढंगबाट विनियोजन भई गाविसको सन्तुलित विकास हुन सकेको भए गह्रौंकालिका भगवती मन्दिर क्षेत्र पनि आजको स्थितिबाट उकासिई स्याङ्जाको मात्र नभई राष्ट्रको एउटा प्रसिद्ध धरोहरका रुपमा पर्यटकीय गन्तब्यका रुपमा परिचित भइसक्ने थियो । आगामी दिनमा गह्रौंकालिका भगवती मन्दिरतर्फ सबैको ध्यान आकर्षित होस् ।
जय गह्रौंकाली !

लेखकः गह्रौं–कालीभक्त
Share this post :

+ comments + 1 comments

Bishal Pangeni
23 June, 2011 16:40

Garhaun kalika online padhne abasar payeko ma khusi lagyo

Post a Comment

कृपया प्रतिक्रिया दिनुहोस्

 
Copyright © 2011. गह्रौंकालिका अनलाइन - All Rights Reserved
Proudly powered by Blogger